काठमाडौं - मौद्रिक नीति समीक्षापछि सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको हो ।
५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभावत यस दिनको बजारमा परेको देखिन्छ। आज दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९९१ वटा कारोबार भएको हो ।
आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माण्डु हाइड्रोपावरको सेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ।
प्रतिक्रिया