फिनल्याण्डद्वारा नेपाल सरकारलाई एक अर्ब ८७ करोड अनुदान

बुधबार, ०९ जेठ २०८१, १० : १०

काठमाडौँ – फिनल्याण्ड सरकारले नेपाललाई एक अर्ब ८७ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । नेपालले उक्त सहायता रकम स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि खर्च गर्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरिन । गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो ।

सम्झौताअनुसार फिनल्याण्डले नेपाललाई १३ मिलियन यूरो अर्थात एक अर्ब ८७ करोड अनुदान दिने छ । यो अनुदान रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन् ।

युरोपेली सङ्घ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । गत वर्षको साउन ६ मा भएको उक्त नेपालका तर्फबाट अर्थ मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र सङ्घका तर्फबाट मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक पेटेरियस युस्तुब्सले हस्ताक्षर गरेका थिए ।

बुधबार, ०९ जेठ २०८१, १० : १०

प्रतिक्रिया