३० औँ पटक सगरमाथा आरोहण गरी कामीरिताले  कायम गरे नयाँ कीर्तिमान

बुधबार, ०९ जेठ २०८१, १० : ४९

काठमाडौँ- कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्।

“कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ ”, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो ।

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

बुधबार, ०९ जेठ २०८१, १० : ४९

प्रतिक्रिया