"बुद्धको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सके राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने "

राष्ट्रपति

३ हप्ता अगाडि

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सके राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार २५६८ औँ बुद्ध जयन्तीको शुभकामना सन्देश दिँदै उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएको बताएका छन् ।

‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो’ उनले भनेका छन् । गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना पनि पौडेलले व्यक्त गरेका छन् ।

वैशाख शुक्ल पक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्ति भाव व्यक्त गर्ने पावन दिनका रूपमा लिँदै बुद्ध जयन्ती मनाउने गरिएको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

                                                 

३ हप्ता अगाडि

प्रतिक्रिया