नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

३ हप्ता अगाडि

काठमाडौँ - पर्साको वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न भएको छ ।

भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत देवीसहाय मिणाले भारत–नेपालबीचको व्यापार बिस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताए। नेपाल-भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दुतावास तयार रहेको उनको भनाइ थियो । यही विषयमा केन्द्रित रहेर सम्मेलनमा छलफल गरिएको उनले जानकारी दिए।

सम्मेलनमा इण्डिया–नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा समेत भएको बताए। साथै नेपाल(भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिए। भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दुत ईश्वरराज पौडेलले नेपाल-भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अवलम्वन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए।

दुई तिहाई भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरुको समाधानका लागि समय अनुकुल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताए। उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल-भारत बीचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताए । सम्मेलनमा सहभागी वक्ताहरुले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आ–आफ्ना धारणा राखेका थिए।


 

३ हप्ता अगाडि

प्रतिक्रिया