स्टिलजन्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न महासंघको माग

३ हप्ता अगाडि

काठमाडौँ - ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले नियन्त्रणका लागि माग गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको हो । देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रील  उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकोले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासंघले सरोकारवाला पक्षको ध्यानाकर्षण गरेको छ ।

यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीहरूले सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको समेत महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बताए । अस्वाभाविक रूपमा बढेको ग्रीलजन्य फलामको मूल्य तुरुन्त मल्य वृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयरहरुको विरुद्ध संघर्ष गर्न बाध्य हुने समेत महासंघले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । यसखालको संघर्ष बाट हुने परिणामको सम्पूर्ण भागिदार सरकार र सम्बन्धित पक्ष हुने महासंघले बताएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया