गण्डकीका एक लाख १० हजार बालबालिकालाई आईपिभी खोप

३ हप्ता अगाडि

गण्डकी - कास्की गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) खोप दिइने भएको छ  ।  राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अभियानका रुपमा यही जेठ १३ गते देखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।

विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए । छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई  खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ ।  सचिव शर्माकाअनुसार नियमित खोप तालिकाअनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाहरुको उमेर समूह निर्धारण गरिएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ । 

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ । विद्यालय नजाने बालबालिकाहरु र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्र मार्फत खोप लगाइने भएको छ ।

खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बाग्लुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ ।  यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा छ हजार छ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

पोलयो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । सङ्क्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्यगरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया