सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

३ हप्ता अगाडि

काठमाडौँ - विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार दिउँसो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई प्रधान कार्यालयमा स्वागत गरेका हुन्  ।

सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो । सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भने, ‘यो सगरमाथा आरोहण मात्र होइन सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो’ ।

उनले सपना जस्तै सोचिएको मिसन सफल भएको र संगठनले गर्व गर्ने अवस्था प्राप्त भएको बताउँदै आरोहण सफलताका लागि विशेष योगदान पुर्‍याउने मिङ्गमा डेविड शेर्पालाई मायाको चिनो समेत प्रदान गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आरोहण सफलतासँगै गौरव र उत्प्रेरणा मिलेको समेत बताए । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको  संगठनको झन्डा पनि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथा आरोहणको अनुभव सुनाएका थिए ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया