लगानीकर्ताहरुले राखे बजेटमा मुख्य माग, पूरा नभए खरो आन्दोलना उत्रिने चेतावनी

३ हप्ता अगाडि

काठमाडाैंँ- आगामी आर्थिक वर्षको बजेटका लागि सेयर बजारका लगानीकर्ताहरुले २ बुँदे माग राखेका छन् । शनिबार सेयर बजारका लगानीकर्ताहरुको ८ वटा संगठनले संयुक्त रुपमा करसम्बन्धी २ बुँदे माग सार्वजनिक गरेका हुन् ।  उनीहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारसँग माग गरेका छन् । अहिले प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त आम्दानीमा अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । 

यसलाई नै अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने उनीहरुको मग छ । यसअनुसार नै आयकर ऐनको अनुसूची समेत संशोधन गर्न लगानीकर्ताले माग गरेका छन् । उक्त ऐन संशोधन भएमा व्यक्तिगत तवरबाट हुने धितोपत्र कारोबारलाई प्रत्साहन गर्न तथा कर कट्टी र अभिलेखीकरण कार्यलाई सहज बनाउने उनीहरुको भनाइ छ । 

त्यस्तै, अहिको व्यवस्थाअनुसार अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्नेछ । उक्त व्यवस्थालाई अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ३ प्रतिशत कायम गर्न माग गरेका छन् । यसले लगानीकर्ताहरुको मनोवल उच्च हुने र कारोबार रकम बढेर सरकारको राजस्वसमेत बढ्ने उनीहरुको धारणा छ । 

उनीहरुले विगत लामो समयदेखि लगानीकर्ताहरुले उक्त माग राखेको जनाउँदै माग सम्बोधन नभएमा विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् । ‘विगत लामो समयदेखि लगानीकर्ताहरुले उठाएका मागहरु सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा लगानीकर्ताहरु सशक्त विरोधमा उत्रिने व्यहोरा अवगत गराउँदछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।  शनिबार जारी गरिएको उक्त विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेका छन् । 

त्यस्तै, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीका कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष सुशील लुनिया, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जीसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया