बंगालको खाडीमा शक्तिशाली चक्रवात, हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने सम्भावना

३ हप्ता अगाडि

 काठमाडौं- बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो ।

‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा सामान्य मात्र पर्ने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले रेमल चक्रवातको असर नेपालमा सीधा नपर्ने बताए । यसका बाहिरी घेराका केही बादल नेपालसम्म आउने भएकाले त्यसको असरले बादल लाग्ने र सामान्य पानी पर्ने सम्भावना छ ।

मौसमविद भेटवालले अनलाइनखबरसँग भने, ‘रेमल चक्रवातको दिशा नर्थ–इस्ट–नर्थ छ । यो नेपालको पूर्वी भूभागभन्दा बाहिर–बाहिर भएर जान्छ । उनले यसको असर नेपालमा खासै नपर्ने बताए । उनले भने, ‘कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशमा सामान्य मात्र पर्ने छ । आजदेखि नै बादल लाग्न सुरु हुने छ तर ठूलो पानी भने पर्ने छैन ।’ उनका अनुसार सोमबार र मंगलबार यसको सामान्य प्रभाव नेपालमा देखिने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मंगलबारदेखि नै प्रभाव कम हुँदै जाने उनले बताए ।

चक्रवातका कारण भारतको कलकत्ता विमानस्थल बन्द

भारतको मौसम विज्ञान विभागका अनुसार रेमल चक्रवातको प्रभावले २६ र २७ मे ९जेठ १४ र १५ गते० पश्चिम बंगाल र ओडिशाका तटिय जिल्लामा अत्यधिक वर्षा हुने सम्भावना छ । त्यसैले यी दुई दिन समुद्रमा माछा मार्न नजान सूचना जारी गरिएको छ । आज मध्यरात पश्चिम बंगालको सागर द्वीप र बंगलादेशको खेपुपारा बीचमा पर्ने समुद्र किनारमा चक्रवात टकराउने सम्भावना छ । त्यतिबेला समुद्रमा डेढ मिटर अग्लो छाल उठ्न सक्ने अनुमान समेत छ । यसको असरले पश्चिम बंगाल र बंगलादेशका होचा भूभागमा डुबानको समस्या हुने चेतावनी जारी गरिएको छ ।

भारतको मौसम विज्ञान विभागले कमजोर संरचना, बिजुली, सञ्चार सेवा, कच्ची सडक, फलफूल बगैंचा र बालीनालीमा क्षति पुग्ने चेतावनी समेत दिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा जान र घर बाहिर ननिस्किन पनि सूचित गरिएको छ । चक्रवातका कारण उत्तरी ओडिसाका बालासोर, भद्रक, केन्द्रपाडासहित कलकत्ता, हावडा, नादिया, पूर्व मेदिनीपुर जिल्ला बढी प्रभावित हुने अनुमान छ । यी क्षेत्रमा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको दरले हुरी चल्ने प्रक्षेपण छ ।

भारतको कलकत्ता विमानस्थलमा आइतबार दिउँसोदेखि २१ घण्टाका लागि उडान अवतरण बन्द गरिएको छ । यसबाट झण्डै ४०० उडान–अवतरण प्रभावित हुने अनुमान छ । २०८० वैशाखमा बंगालको खाडीमा मोखा नामको चक्रवात विकसित भएको थियो । त्यसअघि २०७८ सालमा अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ विकसित भएको थियो । प्रि–मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो । ‘ताउ–ते’बाट नेपालको पश्चिमी क्षेत्र र ‘यास’बाट पूर्वी क्षेत्र बढी प्रभावित भएका थिए ।

३ हप्ता अगाडि

प्रतिक्रिया