काठमाडौं – चौरजहारी नगरपालिका–८ ले महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन विभिन्न आय आर्जनका कार्यक्रमहरु ल्याएको छ । तीमध्ये वडाले सामूहिक तरकारी खेतीलाई यसको लागि महत्वपूर्ण रुपमा अगाडि बढाएको छ । हाल वडामा निर्माण गरिएका छ आमा समूहमध्ये तीन समूहले व्यावसायिकरूपमा तरकारी उत्पादन गरिरहेका वडाध्यक्ष शशिराम विकले बताएका छन् । उनका अनुसार तीन आमा समूहले वडा नं ८ कै सेरामा छ रोपनी जग्गा भाडामा लिएर तरकारी उत्पादन गरिरहेका छन् । सेरामा अहिले प्याज, आलु उत्पादन गरेर बिक्री भइसकेको छ भने नर्सरीमा खुर्सानी, गोलभेडा, भिन्डी, फर्सीको बिरुवा उत्पादन भइरहेका छन् । यसपटक भाडाको जग्गामा समूहले ३० क्वीन्टल प्याज र ३५ क्वीन्टल आलु उत्पादन गरेको वडाध्यक्ष विकले जानकारी दिए।
वडामा रहेका अन्य तीन आमा समूहलाई पनि वडाले तरकारी उत्पादनमा लगाउने योजना बनाएको छ । आमा समूहलाई आत्मनिर्भर बनाउन तथा कृषि पेशामा आकर्षण गर्न मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले छवटै समूहलाई ६८ हजारका दरले जम्मा चार लाख आठ हजार सहयोग गरेको थियो । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) को सहयोग तथा वडा कार्यालयको समन्वयले गर्दा तरकारी उत्पादनमा हौसला मिलेको आमा समूहमा आबद्ध कृषक कमला केसीले बताइन । उनका अनुसार उत्पादन भएका कृषिजन्य वस्तु बजारीकरणमा कुनै समस्या छैन । तरकारी उत्पादनका लागि बिउबिजन, औषधिलगायत प्राविधिक ज्ञानका लागि वडा कार्यालयले सहयोग गर्दै आएको केसीले जानकारी दिइन ।
प्रतिक्रिया