काठमाडौं महानगरले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ

आइतबार, १३ जेठ २०८१, १७ : १५

काठमाडौँ - उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन् । 

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए । शनिवार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनि लेखेका थिए । 

उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडि फोहोर राखिदिएको भिडियो हालेका थिए । यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए । उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए । 

आइतबार, १३ जेठ २०८१, १७ : १५

प्रतिक्रिया