हतियारधारी समूहद्वारा गाउँ नै लुटपाट

३ हप्ता अगाडि

काठमाडौं – गाउँलेहरु यार्सा टिप्न गएको मौका पारी हतियारधारी समूहले मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा लुटपाट गरेको छ । शनिबार साँझ गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।

उक्त समूहले  गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेको मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

‘गाउँमा बूढाबूढी र बालबालिका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्’, उनले भने । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताए । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताए । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो ।

३ हप्ता अगाडि

प्रतिक्रिया