काठमाडौँ - महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले दमक नगरपालिका स्थित ५ बिघा जग्गामा ७२ मिटर उचाइको १८ तला स्थायी संरचना र २८ मिटर उचाइको स्टील संरचना सहितको अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भ्यु टावर निर्माण कार्यका लागि २०७६ असार २७ गते सम्झौता भई तेस्रोपटक निर्माण समय थप गर्दा समेत सम्पन्न हुन नसकेको भन्दै समयमा नै काम सम्पन्न गर्न सचेत गराएको छ ।
२०७६ असार २७ गते पहिलोपटक सम्झौता भएकोमा कूल १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँ लागतमा उक्त भ्यु टावरको काम २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, तोकिएको समयमा कार्य सम्पन्न नभएकोले तेस्रो पटक २०८० मङ्सिर २६ सम्म म्याद थप भएकोमा हालसम्म जम्मा ९३ प्रतिशत मात्र भौतिक प्रगति भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हालसम्म तीन पटकको भेरिएसनबाट भ्यु टावर निर्माण परियोजनाको लागत १२ करोड ४५ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६८ करोड ६० लाख २० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷८० सम्म निर्माण बापत १ अर्ब ४९ करोड ३८ लाख ७१ हजार भुक्तानी भई भौतिक प्रगति ९३ प्रतिशत भएको देखिन्छ । सम्झौताअनुसार समयमा नै निर्माण सम्पन्न गरी निर्मित संरचनाको उपयोग गर्नुपर्ने महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ ।
प्रतिक्रिया