८८ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी

आइतबार, २० जेठ २०८१, १२ : ०६

काठमाडौँ - प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । उक्त कार्यक्रम मार्फत सञ्चालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयबासीहरुको यात्रा सहज भएको छ । 

चालु आर्थिक वर्षमा उक्त योजनाहरु सञ्चालन गर्नका लागि गाउँपालिकालाई ५६ लाख ८५ हजार रुपियाँ प्राप्त भएको थियो । कार्यक्रम अन्तर्गत रोजगारीका लागि फाराम भरेका सात सय २९ जनामध्ये ८८ जनाले कम्तीमा ३९ दिनदेखि बढीमा एकसय दिनसम्मको रोजगारी पाएको गाउँपालिकाको रोजगार शाखाका संयोजक सुमित्रा गैरे पौडेलले जानकारी दिए । 

रोजगार कार्यक्रममार्फत दोबा गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार,पाती चढाउनेदेखि चिसो पानीसम्म गोरेटो तथा मर्मत सम्भार, बाँझो खर्कदेखि बाँझो ढुङ्गासम्म गोरेटो बाटो निर्माण, किम्ली बराह जाने बाटो मर्मत सम्भार, जरिवाङदेखि छेम्दीसम्म गोरेटो बाटो निर्माण र गुइठे पुल देखि पटारसम्मको बाटो निर्माण तथा मर्मत योजना सम्पन्न भएको छ।  कार्यक्रम सञ्चालन भएका वस्तीहरुमा ढुङ्गाको सिँढी बनाउने, सडक सोलिङ, गोरेटो बाटो तथा पदमार्ग निर्माण गरिएपछि स्थानीयबासीलाई यात्रा गर्न सहज भएको छ ।  योजनामा संलग्नहरुलाई प्रतिदिन सातसय चार रुपियाँका दरले ज्याला भुक्तानी गरिएको छ । 
 

आइतबार, २० जेठ २०८१, १२ : ०६

प्रतिक्रिया