काठमाडौँ - देशका विभिन्न सहरहरूमा विद्युत् कटौती हुने गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत् आपूर्ति पनि कटौती गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४\५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रुपमा विद्युत् कटौती हुने गरेको भन्दै आपत्ति जनाइन् ।उनले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत् आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत् कटौती नगर्न सरकारलाई दबाब दिए ।
उनले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत् आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सांसद चौधरीले भने, ‘नेपाल विद्युत् प्राधिकरणले व्यापक रुपमा विद्युत् कटौती गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रुपमा गर्मीको महशुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत् कटौती नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रुपमा भएको छ । यसको नियन्त्रण हुनुप¥यो ।’
यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको समस्या समाधान हुनेगरी बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले खानेपानीको व्यापार हुने र जनताले पीउने पानी पनि नपाउने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालय भित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिए हुने सुझाव समेत दिए ।
प्रतिक्रिया