बाठमाडौं – मिडिया टाइकून धनाढ्य सञ्चार उद्यमी भनेर चिनिने रुपर्ट मर्डकले ९३ वर्षको उमेरमा पाँचौँ पटक विवाह गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियामा शनिवार उनको विवाहको समारोह आयोजना भएको थियो। उनकी पत्नी एलेना जुकोभा ६७ वर्षकी छिन्। उनी अवकाशप्राप्त रुसी वैज्ञानिक हुन्।
मर्डकले एन लेज्ली स्मिथसँग हुन लागेको बिहे गत वर्ष एप्रिलमा अकस्मात् स्थगित गरिदिएका थिए। त्यतिबेलै उनको जुकोभासँग सम्बन्ध रहेको चर्चा चलेको थियो।
मर्डकको जन्म अस्ट्रेलियामा भएको हो। उनका दुई छोरा र चार छोरी छन्।
उनी फक्स न्यूज, वाल स्ट्रीट जर्नल, सन र टाइम्सजस्ता पत्रपत्रिका प्रकाशन गर्ने संस्था न्यूज कर्पोरेशनका मानार्थ अध्यक्ष छन्।
गत वर्ष उनले फक्स र न्यूज कर्पको कार्यकारी पद त्याग गर्दै ती दुई कम्पनी आफ्ना छोरा लक्लनलाई जिम्मा लगाएका थिए। लक्लन रुपर्ट मर्डक र उनकी दोस्री पत्नी एना मारिया डेपेस्टरका सन्तान हुन्।
फोर्ब्स म्यागजीनले सार्वजनिक गरेको विवरणअनुसार रुपर्ट मर्डक र उनको परिवारको स्वामित्वमा रहेको सञ्चारउद्योगको मूल्य १९.९ अर्ब अमेरिकी डलर छ। सन् २०२१ मा उनीहरूसँग २३.५ अर्ब अमेरिकी डलरको सम्पत्ति भएको देखिन्छ।
मर्डक र विवाह
मर्डककी एक पूर्वपत्नी वेन्डी देङले आयोजना गरेको एउटा भोजमा मर्डकले जुकोभालाई पहिलो पटक भेटेको बताइन्छ। देङ चीनमा जन्मिएकी उद्यमी हुन्।
अस्ट्रेलियाली विमानपरिचारिका प्याट्रिसिआ बुकर, स्कटल्यान्डमा जन्मिएकी पत्रकार एना मन र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हलसँग पनि मर्डकले बिहे गरेका थिए। बिहे गरेको ३२ वर्षपछि उनले एनासँग सम्बन्धविच्छेद गरेका थिए।
जुकोभाको बिहे रुसी तेल व्यापारी अलेक्जान्डर जुकोभसँग थियो। उनीहरूकी छोरी दाशाले रुसी धनाढ्य रोमन अब्रामोभिचसँग बिहे गरेकी थिइन् तर उनीहरू सन् २०१७ मा छुट्टिए।
बिबिसीबाट
प्रतिक्रिया