काठमाडौं –"पर्वत र सागरको भविष्य समान, दिगो जीविकाको मार्ग पहिचान" भन्ने मूल नाराको साथ नेपालले ३० सौं अन्तरराष्ट्रिय दिगो विकास अनुसन्धान सम्मेलनको आतिथ्यता गर्ने अवसर पाएको छ। मध्यपश्चिम विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयको आयोजनामा उक्त सम्मेलन हुन गैरहेको छ । उक्त सम्मेलनको संयोजक मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा विकास अध्ययन संस्थान (एमआइसिडी) काठमाडौंका प्राडा दिनेशराज भुजुलाई तोकिएको छ । यस्तै सचिवालयको अभिभारा रिसोर्सेस हिमालय फाउन्डेसनले लिएको छ। यसमा थप पाँच विश्वविद्यालय र बिभिन्न अनुसन्धान संस्थाहरुले पनि सहकार्य गरेका छन् ।।
सन् १९९४ बाट प्रारम्भ भएको उल्लिखित अन्तरराष्ट्रिय जमघट विश्वका सबै महादेशहरुमा गरि १३ मुलुकहरुमा संपन्न भै सकेको छ। सम्मेलनमा प्रकृति साथै समाज विज्ञानका ख्यातिप्राप्त अन्तरराष्ट्रिय वैज्ञानिकहरु, अग्रणी अनुसन्धानकर्मी, अभ्यासकर्ता र नीतिनिर्माताहरुको सहभागिता रहने संयोजक प्राडा भुजुले बताएका छन् । उनका अनुसार उक्त सम्मेलनमा करिब ५० देशका २४२ प्राज्ञ तथा अनुसन्धानकर्ताहरुले भाग लिने भएका छन् । सम्मेलनको मूल उद्देश्य सन्तुलित वातावरणको दिगोपना, मानव विकास, र प्रकृति तथा मानववीचको अन्योन्याश्रित सम्बन्धबारे भए / गरेका अध्ययन अनुसन्धानबाट निसृत पछिल्लो ज्ञान, सिकाई र अनुभवको आदान प्रदान एवं सहकार्यको निम्ति सञ्जाल विस्तार गर्ने मञ्च उपलब्ध गराउनु रहेको छ । सम्मेलन आगामी सन् २०२४ जुन १० देखि १४ सम्म ललितपुरमा आयोजना हुँदैछ। सम्मेलनको सफल आयोजनानिम्ति नेपालका विश्वविद्यालय तथा अनुसन्धान प्रतिष्ठानहरु, नेपाल सरकार तथा पालिकाहरु, योजना तथा नीति आयोगहरु, विकास साझेदार अन्तरराष्ट्रिय नियोगहरु, एबं निजी तथा गैर सरकारी संस्थाहरुको साथ सहयोगका लागि अनुरोध गरिएको आयोजकले बताएको छ। सम्मेलनको व्यवस्थापन र अन्य कार्यहरुका लागि निर्माण गरिने समितिहरुमा विभिन्न संस्थाहरुको सहभागिता र प्रतिनिधित्व रहने अपेक्षा राखिएको छ।
सम्मेलनको लक्ष्य तथा उद्देश्यहरु
सम्मेलनको लक्ष्य दिगो विकास र जीविकाका विषयमा ज्ञान र अनुभवको आदान प्रदान एवं सहकार्यनिम्ति सञ्जाल विस्तार गर्ने मञ्च उपलव्ध गर्नु रहेको संयोजक भुजुले बताएका छन् । यसै गरि अन्य उद्देश्यहरु निम्नानुसार छन्ः
१. दिगो विकास, संबन्धित विषय तथा प्रक्रियाहरुको ज्ञान र बुझाई अभिवृद्धि गर्ने अध्ययनअनुसन्धानहरुको प्रवर्द्धन गर्नु
२. दिगो जीवनका लागि प्रकृति र मानववीचको अन्योन्याश्रित सम्बन्धहरुबारे वैज्ञानिक बहसहरु चलाउनु
३. उर्जाको माग र जलवायु परिवर्तनबाट जैविक विविधता एबं परिस्थितिकीय प्रणालीमा पर्न गएको खललबारे सूचनाहरु आदान प्रदान गर्नु
४. बढ्दो शहरीकरण, उपभोक्ता संस्कार र प्रविधि प्रयोगबाट आएको सामाजिक(आर्थिक रुपान्तरणबारे सुशिक्षित हुनु
५. दिगो प्रकृति र जीवनयापनको अध्ययन अनुसन्धान र उपाय अन्वेषणमा सहकार्य गर्ने संजालको विस्तार गर्नु ।
उक्त सम्मेलन नेपालमा आयोजना हुनुले अन्तरराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा वृद्धि हुने संयोजक प्राडा भुजुले आजको अर्थलाई बताएका छन् । सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
प्रतिक्रिया