काठमाडाैं - यो साता शेयर लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा देखिएका छन् । साताभरी नै बजारमा आएको उत्तारचढाबले लगानीकर्ता पर्ख र हेरको अबस्थामा देखिन्छन् । उनीहरुले अहिलेको अबस्थामा बजारमा लगानी गर्ने वा नगर्नेबीच क्लियर नीति अख्तियार नहुँदा लगानीकर्ता यस्तो अबस्थामा देखिएका हुन् । जुन साताभरी नै आएको सेयर बजारको सूचक भइरहेको कारोबार रकमले पनि पुष्टि गर्छ ।
सबैभन्दा बढी इन्ट्राडे आइतबार १३ दशमलव ५१ बिन्दुले बढेर रु ४.३१ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २०.७८ अर्ब रहेको छ । यो साता २ लाख ८८ हजार ३३१ कारोवारबाट ४ करोड ३६ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण ३,२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारमा गिरावट आउने क्रमले बिहीबार पनि निरन्तरता पाएको थियो । यस दिन नेप्सेमा झिनो अंकको गिरावट आएको हो । सूचक १.९३ विन्दुले घटेर २०७७.७८ अंकमा अडिएको छ । ४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । १३ मध्ये ५ वटा समूह सकारात्मक रहेका छन् ।
लगानीकर्ताहरुको मनोबल उच्च हुन नसक्दा बजारले गति लिन नसकेको अनुमान गरिएको छ । यस्तै, अल्पकालीन कारोबारीहरुको रणनीति थप घटेपछि मात्र बजार प्रवेश गर्ने हुन सक्छ ।
यसले पनि खरिद पक्ष थप कमजोर बनाएको देखिन्छ । बजारमा नयाँ लगानीकर्ता नआउनु, पुरानाको क्रमशक्ति कमजोर रहनु, यसअघि नाफा बुक गरेकाहरु अझै ‘पर्ख र हेर’ कै अवस्थामा रहनुले पनि बजार थप सुस्त बनेको अनुमान गरिएको छ । बजेटमार्फत करका दर घट्ने अपेक्षा गरेका लगानीकर्ताको माग पूरा भएन । यता, ठूला लगानीकर्तालाई सेयर धितो कर्जामा क्याप लगाइएको छ । यसको असर पनि बजारमा लामो समयदेखि परिरहेको देखिन्छ ।
अल्पकालमा यस्ता कुराहरुले बजारमा असर पार्ने गर्छ । फेरि ट्रेडरहरुको ध्यान बढेको बेला बेच्ने र राम्रैसँग घटेपछि मात्र खरिद गर्ने नै रहेको हुन्छ । यसकारण पनि उनीहरु अझै बजार प्रवेश गर्न विलम्ब गर्दा नेप्से थप सुस्त बनेको जानकारहरु बताउँछन् । यद्यपि, सेयर बजारमा उतारचढावहरु आइरन्छ । घटेको बजार बढ्छ । बढेपछि फेरि घट्छ । यो बजारको सामान्य नियम नै हो । यसर्थ, दिनहुँ हुने घटबढका लागि खासै ठूलो कारण पनि चाहिँदैन । माग र आपूर्तिकै सामान्य सिद्धान्तले बजारमा काम गरिरहेको हुन्छ ।
यस्तै, बजारले आकर्षक गति लिन नसकेकाले अहिलेसम्म खासै नयाँ लगानीकर्ता पनि भित्रिएका छैनन् । सामान्यतयः नयाँ लगानीकर्ता प्रवेशका लागि सेयर बजार बढेको छ, यसमा लगानी गर्दा लाभ हुन्छ भन्ने सन्देश सर्वसाधारणमा जान आवश्यक हुन्छ । यता, आम लगानीकर्ताले भने बजारको अवसर र जोखिमलाई ख्याल गर्दै सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर योजनाबद्ध लगानी गर्न जानकारहरुले सुझाव दिने गरेका छन् । लाभांश क्षमता राम्रो रहेका, नाफा, रिजर्भ, इपीएस, नेटवर्थ लगायतका सूचकहरु सबल रहेका कम्पनीमा लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ ।
विहिबार ३ सय २२ कम्पनीको ८८ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पोखरा फाइनान्स परेका छन् ।
प्रतिक्रिया