श्री डिस्टिलरीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

विहीबार, ३१ जेठ २०८१, १८ : ०३

काठमाडौं - श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्न श्रीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

श्रीले ९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्याइएको छ । आईपीओ निष्कासन गर्न आज बिहीबार दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिस्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि श्रीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदार बनाएर अघि बढ्न लागेको बताए ।प्रभु क्यापिटलका सीईओ गौचनले आईपीओ निष्कासनमा श्री डिस्टिलरीले गरेको विश्वासप्रति धन्यवाद दिए ।सम्झौतासँगै श्रीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गर्ने छ । प्रक्रिया पूरा गरी चाँडै कम्पनीले आईपीओ जारी गर्ने जनाएको छ ।

श्री डिस्टिलरी सन् १९८५ मा स्थापना भएको थियो । यसले सुरुवाती ब्रान्डमा किङ्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राई, श्री स्पेसल नम्बर वान, दुधिया स्पेसल, बुलेट, श्री दुधिया, सगुन लगायत उत्पादन गथ्यो । कम्पनीले हाल प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोस, स्पेसल नम्बर वान ब्रान्डका मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले चाँडै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्ड बजार ल्याउने तयारी गरिरहेको छ । स्प्रिट लाइसेन्स रहेको र आईपीओ निष्कासनपछि कम्पनीले उच्च गुणस्तरको स्प्रिट उत्पादनमा पनि काम गर्ने जनाएको छ ।

 
 

विहीबार, ३१ जेठ २०८१, १८ : ०३

प्रतिक्रिया