काठमाडाैं - एनएमबि लघुवित्तले ११ औं वार्षिक साधारण सभा असार २१ गते बोलाएको छ । सभा, होटल बाराही पोखरामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघि नै कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।
सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्नेछ ।
सभामा अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ । यसर्थ असार ६ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया