नेपालमा २० हजार विदेशी श्रमिक कार्यरत, सबैभन्दा बढी चिनियाँ

विहीबार, ०६ असार २०८१, १३ : २५

काठमाडौं – नेपालमा रोजगार नपाएर युवाहरु विदेशिने क्रम बढिरहेकोबेला ठूला परियोजनामा काम गर्ने दक्ष जनशक्तिको भने अभाव देखिएको छ । देशमा दक्ष जनशक्ति नहुँदा सरकारले विदेशबाट ल्याई काम गर्नुपरेको स्थिति छ । हाल नेपालमा २० हजार जनाभन्दा बढी विदेशी श्रमिकले काम गरिरहेका छन् ।  सन् २०१७ देखि हालसम्म १८ हजार तीन सय ३० जना पुरुष र दुई हजार पाँच सय महिला गरी कुल २० हजार आठ सय ३० जना दक्ष विदेशी श्रमिक नेपालमा कार्यरत छन् ।

विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् । बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ । विभागका अनुसार सन् २०१७ देखि हालसम्म सबैभन्दा बढी नौ हजार तीन सय ९८ जना चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । जसमध्ये श्रम स्वीकृति नवीकरण गर्ने तीन हजार दुई सय २५ जना र नयाँ श्रम स्वीकृति लिने छ हजार एक सय ७३ जना चिनियाँ श्रमिक रहेका छन् । नेपालमा आउने दक्ष श्रमिकहरू सार्क मुलुक, एसिया, युरोप, अमेरिका र अफ्रिका महादेशबाट समेत आएको देखिन्छ ।

विहीबार, ०६ असार २०८१, १३ : २५

प्रतिक्रिया