काठमाडौँ - नेपाल धितोपत्र बोर्डले ६ महिनापछि सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमालले राजीनामा दिएपछि २०८० को पुसदेखि बोर्ड नेतृत्वविहीन छ ।
त्यसयता साधारण सेयर थप सार्वजनिक निष्कासन र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । बोर्डले अन्तिम पटक २०८० पुस १९ गते हकप्रद सेयर बिक्री खुलाउन अनुमति दिएको थियो । त्यसयता कुनै पनि प्रकारका सेयर बिक्री खुलेका छैनन् । पाइप लाइनमा रहेका सेयर बिक्री खुलाउने प्रस्ताव रोकिएका छन् । लामो समयपछि भने बोर्डले हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नरेन्द्रकुमार रानाले हिमालयन ऊर्जा विकासलाई हकप्रद सेयर बिक्री खुलाउन अनुमति दिएको हो । यससँगै कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुलाउनेछ । यतिबेला बोर्डको अध्यक्ष चयन प्रक्रिया अलपत्र परिरहेको छ । ऐनबमोजिम मन्त्रिपरिषद्को बैठकमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया