११ अर्ब को वैदेशिक लगानी प्रतिबद्धता भित्रियो

४ हप्ता अगाडि

काठमाडौँ - उद्योग विभागका अनुसार जेठ महिनामा स्वचालित प्रणाली र परम्परागत शैलीबाट गरी कूल ११ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ ।

यो महिनामा स्वचालित प्रणालीबाट ८ अर्ब २७ करोड ९० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । वैशाख १६ र १७ गते चलेको दुई दिने तेस्रो लगानी सम्मेलनका क्रममा विभागले स्वचालित मार्गको सुरुवात गरेको थियो । यो प्रणालीमार्फत लगानीकर्ताले अनलाइनमार्फत नै लगानी आवेदन दिन र स्वीकृति पाउन सक्छन् । उद्योग विभागका अनुसार ५० करोड रुपैयाँसम्मको कम्पनी स्थापनाका लागि अनलाइनमार्फत नै आवेदन दिन सकिनेछ । रित पुर्‍याएर गरिएको त्यस्तो आवेदन अनलाइन माध्यमबाट स्वतः स्वीकृत हुनेछ । आवश्यक कागजात नपुगेमा वेभ साइडमार्फत माग गरिन्छ ।

मध्ये वैशाखदेखि सुरु भएको यो माध्यममार्फत जेठ महिनामा ६८ वटा लगानी प्रतिबद्धता आएको छ । यसको लगानी प्रतिबद्धता रकम ८ अर्ब २७ करोड रुपैयाँ छ । यस्तै विभागले वैशाखमा स्वचालित मार्गबाट २१ वटा विदेशी लगानीका प्रस्ताव स्वीकृत गरेको थियो । ती प्रस्तावमार्फत २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भित्रिएको थियो । विभागको तथ्यांकअनुसार जेठमा पुरानो शैलीबाट आउने लगानी प्रतिबद्धताको तुलनामा स्वचालित मार्गबाट आउने प्रतिबद्धता बढी छ । वैशाख महिनामा परम्परागत शैली (भौतिक रुपमा नै उपस्थित बनेर) बाट ११ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आउँदा स्वचालित मार्गबाट २ अर्ब १५ करोड प्रतिबद्धता आएको थियो ।

तर जेठ महिनामा भने स्वचालित मार्गबाट आउने प्रतिबद्धता बढी छ । स्वचालित मार्गबाट ८ अर्ब २७ करोड लगानी प्रतिबद्धता आउँदा परम्परागत शैलीबाट भौतिक रूपमा नै उपस्थिति जनाएर ३ अर्ब १ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । जेठमा स्वचालित मार्गबाट ६८ वटा लगानी प्रतिबद्धता आउँदा परम्परागत शैलीबाट ५२ वटा मात्रै प्रतिबद्धता आएको हो । यसबाट लगानीकर्ता स्वचालित मार्गतर्फ आकर्षित बनेको देखिन्छ ।

चालू वर्षको जेठसम्ममा स्वचालित र परम्परागत शैलीबाट कूल ५५ अर्ब ४८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा यो दुवै माध्यमबाट ४४९ वटा प्रस्ताव आएका हुन् । यसमध्ये ४ वटा ठुला उद्योग स्थापना, १४ वटा मध्यम र ३४१ वटा साना उद्योग स्थापनाका प्रस्ताव छन् । जेठमा भित्रिएको लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा सबैभन्दा धेरै छ । यसपछि सेवा क्षेत्रमा धेरै लगानी प्रतिबद्धता आउँदा सूचना प्रविधिमा तेस्रो धेरै लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाहेक उत्पादनमूलक, खनिज र कृषि क्षेत्रमा समेत लगानी प्रतिबद्धता आउँदा ऊर्जा क्षेत्रमा र पूर्वाधार क्षेत्रमा भने लगानी प्रतिबद्धता आएको छैन ।

 

४ हप्ता अगाडि

प्रतिक्रिया