देव विकास बैंकका शाखा प्रबन्धकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

मंगलबार, १८ असार २०८१, १८ : ०४

काठमाडौँ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धकविरुद्ध १८ करोड ३ लाख ७२ हजार ८१८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीविरुद्ध विभागले उच्च अदालत तुलसीपुर दाङमा अभियोगपत्र दायर गरेको हो । बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रकम हिनामिना गरेको सूचनाका आधारमा विभागले अनुसन्धान अघि बढाएको थियो । सम्पत्ति शुद्धीकरण को मुद्दामा समेत अनुसन्धान अघि बढाउँदा बुढाथोकी आबद्ध रहेको साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम समेत अपचलन गर्ने मनसाय देखिएको थियो ।

उनले अन्य बैंकका कर्मचारीको समेत परिचयपत्र प्रयोग गरेर रकम अपचलन गरेको पाइएपछि विभागले थप अनुसन्धान अघि बढाएको थियो । सोहीकारण उनलाई बैंकिङ कसूरमा ७ वर्ष कैद समेतको सजाय हुने ठहरी फैसला भएको देखिँदा बुढाथोकीले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी सो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने, धारण गर्ने र सोको कारोबारमा प्रत्यक्ष संलग्न रही सो रकमको व्यवस्थापनका लागि ३६ वटा कृत्रिम कर्जा खाता खोलेको पाइएको थियो । कर्जा खाताबाट आफैले सम्पूर्ण कर्जा रकमान्तर गर्ने लगायतका काम समेत गरेको अनुसन्धानका क्रममा पाइएको थियो ।

उनले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ लुकाउने मनसायसहित ३६ वटा कर्जा खातामा ट्रान्सफर गरेको र सो कर्जा सेवा शुल्क तिरेको समेत गरी उक्त बैंकको १८ करोड ३ लाख ७२ हजार ८१८ रुपैयाँ अपचलन गरेको देखिएको बताइएको छ ।

मंगलबार, १८ असार २०८१, १८ : ०४

प्रतिक्रिया