काठमाडाै - नेपाल स्टक एक्सचेञ्ज नेप्से मा दुई अलग अलग कम्पनीको शेयरमूल्य समायोजन भएको छ। हिमालयन ऊर्जा विकास कम्पनी र नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको हो।
दुबै कम्पनीले हकप्रद शेयर निष्कासन तथा साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेकोले मूल्य समायोजना भएको हो ।हिमालयन ऊर्जाको शतप्रतिशत हकप्रद शेयरको लागि मूल्य समायोजन भएको छ। बुधबार २६९ रुपैयाँमा अन्तिम कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य समायोजनपश्चात प्रतिकित्ता मूल्य १८४.५० रुपैयाँ कायम भएको छ।
यसैगरी, लगानी कोषको १४ प्रतिशत बोनस शेयर समायोजनभएको छ । समायोजपश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
हिमालयन ऊर्जाले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।हाल कम्पनीको चुक्तापूँजी ९९ करोड रुपैयाँ छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।त्यस्तै लगानी कोषले असार ३१ गते २९ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।नेप्सेले समायोजित गरेको मूल्यलाई आधार मानेर यो दिन ती कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया