काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्मा विश्वासको मतको सामना गर्ने बताएका थिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो । प्रमुख सत्ता साझेदार एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ । सरकार अल्पमतमा भए पनि प्रधानमन्त्रीले राजीनामा नदिने सचिवालयका प्रेस संयोजक गोविन्द आचार्यले बताए ।
बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति तथा श्रममन्त्री डोरप्रसाद अर्याल लगायतसँगको भेटमा पनि आफूले राजीनामा नदिने संसद्बाट विश्वासको मत लिने बताएका थिए । रास्वपाका मन्त्रीहरूलाई पनि अहिले राजीनामा नदिन प्रचण्डले भनेको रास्वपाका नेताहरूले बताएका छन् । असार १७ गते कांग्रेस र एमालेले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको थियो । यो सहमतिपछि अल्पमतमा परेका प्रचण्डले ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
प्रतिक्रिया