'तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र' : संसदमा बर्तौला

सोमबार, २४ असार २०८१, १३ : ३७

काठमाडौँ - नेकपा (एमाले) ले आफ्नो पार्टीलाई एक्ल्याउने र कमजोर बनाउने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्रपछि नेपाली कांग्रेससँग नयाँ समीकरण बनेको बताएको छ ।

 प्रचण्डको उथलपुथलवादी सोचका कारण नै आफूहरू सरकारबाट बाहिरिनु परेको एमालेको भनाइ छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तामा सँगै रहेको दललाई एक्ल्याउने प्रचण्डको दूषित मनसाय रहेको आरोप लगाएका हुन् ।

‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गायका थिए – यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले संसदमा भने, ‘म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’

बर्तौलाले प्रचण्ड एमालेलाई एक्ल्याउने दूषित खेलमा लागेको आरोप लगाए । ‘सरकारका प्रधानमन्त्री सधैँ सँगै रहने, अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने , त्यसप्रकारको दूषित खेलमा सहभागी हुनुभयो,’ उनले भने, ‘उथलपुथलको कार्यशैलीमा रहने । एमालेलाई एक्ल्याउने र कमजोर बनाउने षड्यन्त्र रह्यो ।’ उनले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रचण्डको ध्यानाकर्षण गराए ।
 

सोमबार, २४ असार २०८१, १३ : ३७

प्रतिक्रिया