काठमाडाैं- नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था संशोधन गरेको छ। योसँगै अबदेखि संघको अध्यक्ष पनि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ।
सोमबार बसेको महासंघको कार्य समितिले सर्वसम्मत विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने व्यवस्था गरेको हो। यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ। हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्ष कार्यकाल सकिएपछि विधान कार्यान्वयनमा जानेछ।
महासंघ अध्यक्षमा अस्वच्छ प्रतिस्पर्धा भएको भन्दै पशुपति मुरारका अध्यक्ष भएको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष बनेका भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष बनेका हुन्। हालका वरिष्ठ उपाध्यक्ष पनि स्वतः अध्यक्ष बन्नेछन्। त्यसपछि भने निर्वाचन हुनेछ।
प्रतिक्रिया