के शेयर बजारले अब बुलिश ट्रेन्ड समातेको हो ?

बुधबार, ०२ साउन २०८१, ०६ : ५१

काठमाडाैं- नयाँ आर्थिक वर्ष २०८१-0८२ को पहिलो दिन आज शेयर बजारमा उच्च अंकले बढेको थियो । बजार उचालिएसँग नेप्से २३ सय अंक माथि पुग्दा कारोबार रकम पनि ९ अर्ब नाघेको छ । यो विन्दु दुई वर्ष यताकै उच्च विन्दु हो । मंगलबार नेप्से ७०.१८ अंकले बढेको हो । ३.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१०.५९ अंकमा पुगेको छ । असार १५देखि निरन्तर बढीरहेको शेयर बजार मंगलबारसम्म आइपुग्दा २७४ अंकले बढेको छ भने औसत दैनिक ५ अर्बमाथि कारोबार भएको छ ।

बजारमा उछाल आए पनि उपसमूहको म्युचुअल फण्ड ०.४२ प्रतिशतले घटेको छ भने बाँकी समूहमा हरियाली छाएको छ । हाइड्रो समूह सबैभन्दा बढी ५.४५ प्रतिशतले बढेको हो । आज ३१५ कम्पनीका २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२.४१ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीका लगानीकताहरुले १०–१० प्रतिशतले नाफा कमाउँदा थप ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाएका हुन् । आज ४९ कम्पनीका लगानीकर्ताले मात्रै घाटा व्यहोरे । नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२, एनआईबीएल ग्रोथ फण्ड र एलबीबीएल ऋणपत्र २०८९ का लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरे । आईसीएफसी फाइनान्स र प्राइम ऋणपत्र २०८८ का लगानीकर्ताहरुले ९.६५ र ९.१४ प्रतिशतले घाटा व्यहोरे । 

ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ र हिजो सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ बराबरको कारोबार भएको थियो । पौडेल  आएपछि शेयर बजारलाई लिएर लगानीकर्ताले विष्णु बुल समातेको चर्चा समेत गरेका छन् ।

बुधबार, ०२ साउन २०८१, ०६ : ५१

प्रतिक्रिया