संस्थापक सेयरको लकइन अवधि बढाउदै धितोपत्र बोर्ड

मंगलबार, १५ साउन २०८१, १० : ५९

काठमाडौं- नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरमा लकइन अवधि बढाउने भएको छ । बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ ।

हाल संस्थापकको सेयरमा लकइन अवधि ३ वर्षको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एउटै (३ वर्ष) हुँदा प्रभावित स्थानीय मर्कामा पर्ने गरेका छन् ।‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरमा हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
‘प्रभावित स्थानीयको पनि लकइन अवधि ३ वर्ष नै भएकाले संस्थापकको हकमा केही बढाउनुपर्ने आवश्यकता देखिएकाले यो तयारी गरिएको हो’ बोर्डका एक उच्च अधिकारीले भने ।

संस्थापकलाई लकइन अवधि कति राख्ने भन्ने विषय भने अध्ययन र सम्बद्ध क्षेत्रसँगको परामर्शपछि तय हुने बोर्डले जनाएको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एकै समय राखिँदा बजारमा सेयर संख्या एक्कासी बढ्न जाने र त्यसले मूल्य बढी मात्रामा प्रभावित हुने गरेको छ । यहीं कारण प्रभावित स्थानीयले लामो समयसम्म सेयर होल्ड गरेर पनि उचित नाफा लिनबाट वञ्चित हुने गरेका छन् ।

मंगलबार, १५ साउन २०८१, १० : ५९

प्रतिक्रिया