लक्ष्मी लघुवित्तको नाफा ५ करोड माथि

बुधबार, २३ साउन २०८१, ११ : ५५

 काठमाडौं- गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ३४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ६ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । 

गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज घटेकाले सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष १३ करोड १८ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष १ करोड १२ लाख रूपैयाँभन्दा बढी रहेको हो । अघिल्लो वर्ष १० करोड ४७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनीले गत वर्ष ७ करोड ६५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । कम्पनीको वितरणयोग्य नाफा भने साढे ११ लाख रूपैयाँभन्दा बढी कायम छ ।

हाल कम्पनीको चुक्तापूँजी ४४ करोड १६ लाख ६२ हजार रूपैयाँ रहेको छ भने रिटर्न अर्निग १ करोड ८६ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम २६ करोड ७७ लाख रूपैयाँभन्दा बढी रहेको छ । कर्जा सापटी ३ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी रहेका कम्पनीको निक्षेप संकलन भने २ अर्ब ३७ करोड रूपैयाँभन्दा बढी छ । 

कम्पनीले चौथो त्रैमाससम्म ६ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ८ दशमलव ३६ प्रतिशत रहेकोमा गत वर्ष ७ दशमलव ४३ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रूपैयाँ ११ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६४ रूपैयाँ ८३ पैसा छ । हाल कम्पनीले ९० ओटा शाखा कार्यालयमार्फत १ लाख ९ हजार ६३७ परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

बुधबार, २३ साउन २०८१, ११ : ५५

प्रतिक्रिया