काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडका संस्थागत लगानीकर्ताहरूले आगामी असोज ५ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने भएका छन् ।
कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँड गरिएको २४ लाख कित्ता सेयरको लक-ईन अवधि असोज ५ गते समाप्त हुने जनाएको हो। पहिलो पटक बुक विल्डिङ्ग प्रणालीमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
सोमध्येको ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा २५(ग) बमोजिम सेयर निष्कासन गरेको कम्पनीले उक्त सेयर खरिद बिक्री गर्न पाउने लक-ईन अवधि तोकेको थियो । सोही संस्थागत सेयरको लक–ईन अवधि सकिएको हो ।
यसै गरी सार्वजनिक निष्कासनको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरी कम्पनीले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरूको लागि छुट्टयाई बाँडफाँड समेत गरेको थियो ।
प्रतिक्रिया