एक वर्षमा १४ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी ‘सरेन्डर’

बुधबार, ३० साउन २०८१, १२ : ०१

काठमाडौं- आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा पोलिसी ‘सरेन्डर’को पछिल्लो तथ्यांक हेर्दा  बीमितहरु आर्थिकरूपमा निकै सकसपूर्ण अवस्थामा रहेका भन्न सकिन्छ । 

प्राधिकरणको तथ्यांक अनुसारगत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्ममा साढे १४ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी ‘सरेन्डर’ भएको छ । यस अवधिमा १४ अर्ब ५० करोड १२ लाख ७७ हजार  रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । उक्त रकम एक लाख १३ हजार ९७६ जना बीमितले सरेन्डर मार्फत फिर्ता लगेका हुन् । 

यसरी कम समयमै ठूलो रकमको पोलिसी सरेन्डर गर्नु भनेको बिमित आर्थिक क्षति व्यहोर्दै थप लगानी गर्न नसकिने निष्कर्षमा पुग्नु हो । सामान्यरुपमा नै पनि के बुझ्न सकिन्छ भने बिमितहरु बाँकी प्रिमियम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्तो अवस्थामा पुग्नु भनेको आर्थिक मन्दी तल्लो तहसम्म नै पुग्यो भन्ने पनि हो ।  

एलआईसीको सर्वाधिक

गत आवमा लाइफ इन्स्योरेस कर्पोरेसन नेपाल (एलआईसी)को सर्वाधिक बीमा पोलिसी सरेन्डर भएको छ । यस अवधिमा ३० हजार ३०९ जना बीमितले ४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । 

त्यस्तै, दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पनि ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । उक्त रकम २८ हजार ६२७ जना बिमितले सरेन्डर गरेका हुन् ।  

कुनको कति भयो ‘सरेन्डर’ ? 

यस अवधिमा राष्ट्रिय बीमा संस्थानको एक अर्ब १० करोड ४८ लाख रुपैयाँ बराबरको १३ हजार ९४१ बीमितले बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको एक अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको ७ हजार ५ सय बीमा पोलिसी सरेन्डर भएको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा मेट लाइफको ४३ करोड २८ लाख रुपैयाँ बराबरको ४ हजार १०३ वटा र एशियन लाइफको ५५ करोड ६३ लाख रुपैयाँको एक हजार ७ हजार १७१ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।  

यस्तै, आईएमई लाइफका ६५४ जना बिमितहरुले १३ करोड ६६ लाख रुपैयाँ बराबरको पोलसी त्यागेका छन् भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६२ लाख रुपैयाँको पोलिसी ‘सरेन्डर’ भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ९ करोड ४ लाख रुपैयाँ बराबरको ७८० एक हजार ४७४ वटा पोलिसी त्याग भएको छ ।  

बीमितहरुले सिटिजन लाइफ इन्स्योरेन्सको १७ करोड ३ लाख, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ७१ करोड ४१ लाख रुपैयाँ, सानिमा रिलायन्सको २४ करोड ८६ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको एक अर्ब २ करोड ९५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।    

 

बुधबार, ३० साउन २०८१, १२ : ०१

प्रतिक्रिया