काठमाडौँ - नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४५ लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ ।छायाङ्कनरत चलचित्रमा सेट निर्माणको काम भइरहेका छ भने चलचित्रका निर्देशक प्रदीप साही, छायाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ ।
कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ता अघि काठमाडौँको भद्रकालीमा चलचित्रको शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ प्रस्थान गरेको थियो ।
चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज)का अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायाङ्कन गरिनेछ । हाल अपर मुस्ताङको लोमान्थाङमा छायाङ्कन भइरहेको चलचित्रलाई, छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छायाङ्कन गरिनेछ ।
चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहने यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन् ।
प्रतिक्रिया