असोज महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

सोमबार, ३१ भदौ २०८१, ११ : १९

काठमाडौं- वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।

भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो । 

असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।

यसरी ब्याजदर बढाउनेमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक छन् । कृषि विकास बैंकले ०.००७२ प्रतिशत विन्दुुले ब्याजदर वृद्धि गरेको छ । हिमालयन बैंकले एक प्रतिशत विन्दुले ब्याजदर वृद्धि गरेको छ । नेपाल एसबिआई बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको सोमबार सार्वजनिक विवरणले देखाएको छ । सर्वाधिक ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । यो बैंकले भदौमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १.०७ प्रतिशत विन्दुले घटाएको छ ।

असोजमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपकर्तालाई ७.१८ प्रतिशत ब्याज दिने भएको छ । अन्य बैंकले भने ७ प्रतिशतभन्दा तल ब्याज दिने भएका हुन् । असोजमा एनआईसी एशिया बैंकले अरू बैंकभन्दा बढी ब्याज दिने भएपछि भदौको तुलनामा यो बैंकको ब्याजदर सस्तो हो । भदौमा यो बैंकको मुद्दती निक्षेपमा अधिकतम ब्याज ७.४१ प्रतिशत थियो । माछापुच्छ्रे, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् ।

पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउने गर्छन् । तरलता सहज नहुने बैंकले भने ब्याजदर अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले बढाएर निक्षेप तान्न खोज्छन् ।

बैंक भदौको ब्याजदर असोजको ब्याजदर
कृषि विकास ६.०६५ ६.०७
राष्ट्रिय वाणिज्य ६.०७ ६.००
नेपाल एसबीआई ६.२५ ६.००
लक्ष्मी सनराइज ६.५० ६.५०
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.०१
प्राइम ६.७५ ६.२५
नेपाल ५.२५ ५.९५
सानिमा ६.२० ५.९०
सिटिजन्स ६.७५ ६.४०
नबिल ७.०० ६.७५
इन्भेस्टेमेन्ट मेगा ६.५० ६.५०
सिद्धार्थ ६.५० ६.५०
स्टान्डर्ड चार्टर्ड ७.०० ७.००
माछापुच्छ्रे ७.०० ७.००
प्रभु ६.१० ६.१०
एनएमबी ७.४१ ६.५०
एनआईसी एसिया ७.४१ ७.१८
हिमालयन ७.०० ७.००
एभरेष्ट ६.१० ६.००

 

सोमबार, ३१ भदौ २०८१, ११ : १९

प्रतिक्रिया