बिज्ञान दिवसमा कुटनीति र बिज्ञानको चर्चा

बुधबार, ०२ असोज २०८१, १० : ४०

काठमाडौँ- राष्ट्रिय विज्ञान दिवस २०८१ मनाउने सिलसिलामा मध्यपश्चिम विश्वविद्यालयको राजधानीस्थित सहकार्य तथा विकास अध्ययन संस्थान, नेपाल खुला विश्वविद्यालय र रिसोर्सेस हिमालय फाउन्डेसनको संयुक्त तत्वावधानमा 'विज्ञान कुटनीतिमा दिगो समाधानको लागि ज्ञानको लाभ' विषयक एक संगोष्ठीको आयोजना गरिएको थियो । 

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुबकुमार गौतमले नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्मीहरुले आफनै प्रयासमा गरिरहेका अनुसन्धान र तिनको प्रकाशनहरु स्तुत्य रहेको कुरा बताए। नेपालले विज्ञान कुटनीति मार्फत विश्वका बिभिन्न देशहरुबाट ज्ञान भित्राएर आफ्नो आवश्यकता अनुकुल लाभ लिन सक्नेछ, उनले प्रकाश पारे। 

पूर्व विज्ञान मन्त्री कल्पना धमलाले वैज्ञानिक अनुसन्धान र प्रविधि विकासमा अझ पनि देशले पर्याप्त लगानी गर्न नसकेको कुरा बताउनु हुँदै यस क्षेत्रका हिमायतीहरुको संघर्ष जारी राख्नु पर्ने कुरामाथि जोड दिईन्। 

कार्यक्रममा प्रस्तुत कार्यपत्रहरुमाथि आफ्नो विचार राख्दै पूर्व राजदुत मोहनकृष्ण श्रेष्ठले कुटनीति र विज्ञानको सहकार्य बाट नागरिकहरु कसरी लाभान्वित हुन सक्छन् भन्नेको उदाहरण कोभिद–१९ को महामारीबाट प्रष्ट झल्किएको कुरा प्रकाश पारे। 

त्यस्तै अर्का पूर्व राजदुत मिलन तुलाधरले अन्तरराष्ट्रिय सहयोग जुटाउने वातावरण तयार पार्न राजनैतिक दृढ अकांक्षा हुन जरुरि भएको कुरा बताए। गोष्ठीमा डा रेश्मा तुलाधर र हरिप्रकाश चन्दले कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।  सो अवसरमा प्रा जगन्नाथ श्रेष्ठ, डा नारायणबहादुर थापा, प्रा कमलकृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, डा रामजी बोगटी, आरके ढुंगाना, डा बिन्ज्वला श्रेष्ठ, लगायतका सहभागी हरुले आफ्ना विचार व्यक्त गरेका थिए । 

कार्यक्रमको अध्यक्षता प्रा दिनेशराज भुजुले गर्नु भएको थियो भने नेपाल खुला विश्वविद्यालयका डिन डा सुरेन्द्र श्रेष्ठले स्वागत तथा फाउन्डेसनका डा गौरीशंकर भण्डारीले कार्यक्रमको महत्व बारे प्रष्टाए । 

नेपालले वि सं २०६९ देखि राष्ट्रिय विज्ञान दिवस मनाउंदै आएको छ।
 

बुधबार, ०२ असोज २०८१, १० : ४०

प्रतिक्रिया