चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन, सरकारी खाता एक साताका लागि रोक्का हुने

बुधबार, २५ असार २०८२, १२ : २०

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज असार २५ गते अन्तिम दिन रहेको छ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का हुनेछन् । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । ।

आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखाप्रणाली एक साताका लागि बन्द हुनेछन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । 

अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि महालेखा नियन्त्रक कार्यालयको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको कार्यालयले जनाएको छ । 

चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ । यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
 
 
बुधबार, २५ असार २०८२, १२ : २०

प्रतिक्रिया