काठमाडौँ - सरकारले आन्तरिक ऋण प्रयोजनका लागि जारी गर्ने नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा पनि बिक्री हुने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधिले यस्तो व्यवस्था गरेको हो । कार्यालयले बुधबार जारी गरेको कार्यविधिमा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार बजार निर्मातामार्फत डोम्स र इन्भेष्टर्स पोर्टलबाट गर्न सकिने उल्लेख गरिएको छ ।
सार्वजनिक ऋणका लागि सरकारले अहिले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार गरी चार वटा औजार प्रयोग गर्दै आएको छ । त्यसमध्ये ट्रेजरी बिल छोटो अवधिका लागि हुने भएकोले यो दोस्रो बजारमा कारोबार हुँदैन ।अहिले विकास ऋणपत्र भने कार्यालयको डोम्स र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुवैमा कारोबार हुँदै आएको छ ।
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र भने डोम्स र इन्भेष्टर्स पोर्टलबाट मात्रै कारोबार हुने कार्यालयले जनाएको छ । दोस्रो बजारमा कारोबार सुरु भएसँगै यी दुई उपकरणप्रति जनताको आकर्षण बढ्ने अपेक्षा कार्यालयले गरेको छ ।
प्रतिक्रिया