काभ्रेपलाञ्चोकमा कृषिमा मात्र ४२ करोड ६३ लाखको क्षती

मंगलबार, २२ असोज २०८१, २० : ४४

काठमाडौँ- हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ। बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। 

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए। सबैभन्दा धेरै पनौती नगरपालिकामा ९ करोड ४१ लाख, धुलिखेल नगरमा ५ करोड ४८ लाख बराबरको क्षति भएको छ।  उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको  विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ।

यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ। यसैबीच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ। सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन्।

मंगलबार, २२ असोज २०८१, २० : ४४

प्रतिक्रिया