मकै पोलेर पनि चल्छ जिन्दगी

आइतबार, ०४ कार्तिक २०८१, ११ : १५

काठमाडौं - जाँगर र मेहनत गरेपछि घर आँगनमै रोजगारी पाइन्छ भन्ने उदाहरण इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकीबाट बुझ्न सकिन्छ । उनको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछन्।

 इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन् उनी । उनले पोलेको सानो मकै घोगा २० र ठूलो मकै ४० सम्ममा बिक्री गर्दै आएकी छन् ।

उनले भनिन्, ‘विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।’ दिनमा मकै बेचेर एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् ।

आमदानी कति हुन्छ भन्ने जिज्ञासामा उनले भनिन, ‘महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ,’ 

उनी जस्तै इटहरी–२ की पार्वती चौधरी पनि तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । ‘बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु,’ उनले भनिन् ।
स्थानीय किसानसँग मकै प्रतिघोगा १० देखि १५ मा खरिद गरेर २० देखि ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन्। फुर्सदको समयमा उनले बिहान जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् ।

त्यस्तै इटहरी–६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन्। उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् ।

मण्डलले भने, ‘अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।’ महिनामा २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन् ।

त्यहाँ मकै पोलेर आफ्नो गुजारा चलाउने धेरे छन् । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।

आइतबार, ०४ कार्तिक २०८१, ११ : १५

प्रतिक्रिया