अब सबै सरकारी वेबसाइट समान प्रकृतिका बनाईने

बुधबार, ०७ कार्तिक २०८१, १२ : ४३

काठमाडौं- विभिन्न सरकारी निकायका वेबसाइट फरक फरक हुँदा बेबसाइटमा एकरूपता नभएपछि सरकारले बेबसाइटलाई एकरूपता कायम गर्न सबै सरकारी कार्यालयका बेबसाइट समान प्रकृतिका बनाउने भएको छ।  

मन्त्रालयका सचिवहरूले सिंहदरबारमा बसेको  बैठकले सरकारी कार्यालयको बेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय बैठकले गरेको हो।

बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका लागि एकीकृत सरकारी इमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि गर्नुपर्ने काम र रणनीतिका सम्बन्धमा सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव संयोजक रहेको कार्यदल गठन गरेको छ भने कार्यदलमा सञ्चार मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रतिनिधि सदस्य र सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य सचिव तोकिएको छ।

बुधबार, ०७ कार्तिक २०८१, १२ : ४३

प्रतिक्रिया