रास्वपाले भिड जम्मा गरेर छानबिन प्रक्रिया प्रभावित पार्न खोज्यो : सत्तारुढ दल

बुधबार, ०७ कार्तिक २०८१, १२ : ५२

काठमाडौँ- सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सत्तारुढ दलहरूले रास्वपाले भिड जम्मा गरेर छानबिन प्रक्रिया प्रभावित पार्न खोजेको सत्तारुढ दलको निष्कर्ष निकालेका छन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मत रुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए । उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए ।

यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ । 

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रवार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारुढ नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको थियो । बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरू एकता र एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए । “हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ ।”

बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सह अध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति  पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए ।

बुधबार, ०७ कार्तिक २०८१, १२ : ५२

प्रतिक्रिया