काठमाडौं– धनतेरस अर्थात आज धनत्रयोदशी । आज जोडेका धातुका सामग्रीको १३ गुणले वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ । त्यसरी नै धनतेरसका दिन धातुका सामान जोडेमा धनकी देवी लक्ष्मी प्रसन्न हुने जनविश्वास पनि छ। सोही कारण हिन्दु धर्मावलम्वीहरूले आजको दिन सुन, चाँदी तथा अन्य धातुका सर समान खरिद गर्ने प्रचलन छ। आज राजधानी लगायत मोफसलका सुन, चाँदी तथा अन्य धातुका पसलहरूमा बिहानै देखि चहल पहल छ। खासगरी सुन,चाँदीका पसलहरू आजकै दिनको लागि भन्दै बेहुली जस्तै सिँगारिएका पनि हुन्छन्। काठमाडौँस्थित नयाँ सडक(न्युरोड)मा रहेका पसलहरू हेर्न लायक गरी सिँगारिएका छन्। केही दिन अघि देखि नै न्युरोडका सुन व्यवसायीले पसल सिँगार्न थालेका हुन्।
खासगरी आज आउने ग्राहक आकर्षित गर्न पनि पसल सिँगार्ने प्रचलन छ। आज वर्षभरिकै सबैभन्दा बढी सुन खपत हुने भएकोले पनि व्यवसायीहरूले पसल सिँगार्ने गरेका हुन्। तर यस वर्ष भने सुनको माग खासै बढी छैन। तैपनि अन्य दिन भन्दा बढी सुन बिक्री हुने अनुमान व्यवसायीले गरेका छन्।
नेपालमा हरेक दिन २० किलो भन्दा बढी सुनको माग हुने गरेकोमा अहिले भने १० किलो पनि माग नरहेको व्यवसायीले बताएका छन्। यस अघिको धन त्रयोदशीमा एकै दिन ६० किलो भन्दा बढी सुन बिक्री भएको तथ्याङ्क छ। तर यस पटक भने २५ किलोसम्म सुन बिक्री हुने अनुमान व्यवसायीले गरेका छन्। “गएका वर्षहरुमा ६० किलो भन्दा बढी सुन बिक्री भएको रेकर्ड छ। तर यस पटक भने २५ किलोसम्म बिक्री हुन्छ कि भन्ने अनुमान छ। यसैपनि साधारणतया दैनिक १० किलो सुन पनि बिक्री भइरहेको छैन। अहिले नयाँ सुन किन्ने भन्दा पनि पुरानो सुन नै नयाँ बनाउने क्रम बढी छ ” नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने।
खासगरी पछिल्लो समय दैनिक रुपमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै गएपछि सुनको माग घट्दै गएको हो। तथापि सुन किन्नै पर्ने बाध्यता हुनेले भने सुनको माग गर्न भने अझै पनि छाडेका छैनन्। सोही कारण धन त्रयोदशीमा ग्राहक आकर्षित गर्न व्यवसायीले विभिन्न किसिमका अफर सार्वजनिक गरेका छन्। केही व्यवसायीले ज्यालामा निश्चित प्रतिशत छुट दिएका छन् भने केहीले जर्तीमा सहुलियत दिएका छन्।
सुनको माग अहिले पनि दैनिक पाँचदेखि सात किलोसम्म हुने गरेको छ। दैनिक पाँच किलो नै सुनको माग हुँदा पनि महिनामा कम्तीमा एक सय ५० किलो सुन चाहिन्छ। तर बैंकहरुले गएको तीन महिनामा जम्मा एक सय किलो सुन आयात गरेका छन्। सोही सुनले तीन महिनादेखि बजार धानिएको छ। अहिले नेपालमा भन्दा भारतमा सुन सस्तो छ। भारतमा सुनको भन्सार शुल्क घटेदेखि त्यहाँ सुन सस्तिएको हो। नेपाल भन्दा भारतमा सुन सस्तो भए यता भारतीय सुनले नै नेपाली बजार धानिँदै आएको छ। तर पनि सरकारले कुनै चासो लिएको छैन।
प्रतिक्रिया