"सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई सञ्चालन गर्न दिनुस् "

मेयर साह

बुधबार, १४ कार्तिक २०८१, १३ : ०६

काठमाडौँ- सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई सञ्चालन गर्न दिन महानगरका प्रमुख बालेन्द्र साहले सरकारसँग आग्रह गरेका छन् ।  बुधवार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्ण रुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए । उनले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधी उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने भनाइ राखे ।

‘‘मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन । सबै चिज डुबाइएको छ । यो सबै चिज उकास्न जरुरी छ । वीर अस्पताल पनि उकासिनु पर्छ, सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ । औषधी उत्पादन हुनुपर्‍यो ।,’’ मेयर साहले भने, ‘‘औषधी उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले बेच्छ त । बेच्ने चिज पनि कसरी घाटामा जान्छ । सरकारले गरिदिनुपर्‍यो । सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुपर्‍यो । महानगरपालिकाले सञ्चालन गर्छ ।’’ प्रमुख साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए। सरकारी ९० प्रतिशत उद्योगहरू लिजमा दिएर बेचिने गरेको उनको भनाइ छ । उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरूलाई डुबाइने गरेको बताए ।

उनले ०५८/५९ सालमा यहाँको बजेट पाँच करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट एक करोड पनि नरहेको बताए । उनले सरकारले ५० करोड बजेट छुट्टाए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद भएको उनको भनाइ छ । उनले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताए । सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताउँदै प्रमुख साहले मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए । उनले सरकारले हेरेका निकायहरू सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए । डुबेका उद्योगहरू उकास्न जरुरी रहेको बताए ।

उनले भने, ‘‘सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ । देश जोगाउन सुरुमा यस्तो ठाउँ जोगाउनुपर्छ । सचिवज्यूको एउटा कुरामा म सहमत भएँ, मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ । एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ । वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ । सबै बराबर छ ।’’ प्रमुख साहले सबै सरकारी निकायहरू उकास्नुपर्ने बताए।

बुधबार, १४ कार्तिक २०८१, १३ : ०६

प्रतिक्रिया