देउसीको रौनक : प्रचण्ड दाजुभाइको नाचमा प्रतिस्पर्धा, दान पनि बराबरी (भिडियो)

प्रचण्डका घरबेटीले दिए दुई दाजुभाइको भन्दा बढी

शनिबार, १७ कार्तिक २०८१, १० : ००

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका भाइ नाता पर्ने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबीच देउसी भैलोको नाचमा प्रतिस्पर्धा भएको छ।

शुक्रबार प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष निवास पुगेका पार्टी निकट विद्यार्थी संगठनअखिल (क्रान्तिकारी) बागमती प्रदेश समितिको देउसी भैलोमा दुबै दाजुभाईको नाचमा प्रतिस्पर्धा चलेको हो।

प्रचण्ड निवास खुमलटार पुगेको अखिल (क्रान्तिकारी)को भैलोमा प्रचण्ड कम्मर मर्काएर छमछमी नाचेका छन् । उनले आफ्नो दैलोमा देउसी भैलो खेल्न आएका विद्यार्थीहरुलाई नाचेर साथ दिँदै रमाएका छन् । उनका भाइ नाता पर्ने राष्ट्रिय सभाका अध्यक्ष रहेका नारायण दाहालले पनि आफ्नो सरकारी निवास बालुवाटार पुगेको सोही भैलो टोलीसँग श्रीमतीसहित नाचेर रमाएका छन्।

नाच्न प्रतिस्पर्धा गरेका यी दुई दाजुभाइले भैलोलाई दान भने बराबरी दिएका छन्। पार्टी अध्यक्ष प्रचण्ड र राष्ट्रियसभा अध्यक्षले बराबर १ लाख रुपैयाँ दान दिएका छन्। प्रचण्ड निवासमा भैलो खेल्न अखिल(क्रान्तिकारी)को निवर्तमान कार्यालय सदस्य केशव रावलसहितको टोली पुगेको थियो। 

उक्त भैलोमा सुन तस्करी एवं सहकारी लगायत विभिन्न प्रकरणका आरोपी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुत्र निवर्तमान महासचिव दिपेश पुन पनि पुगेका थिए। राष्ट्रियसभा अध्यक्षको निवासमा भने संगठनमा समानान्तर गतिविधि सञ्चालन गरेका विद्यार्थी नेता पवन कार्की लगायतको सहभागिता रहेको थियो।

दिपेशले पूर्वउपराष्ट्रपति निवासमा समेत लगेर भैलो खेलाएका छन्। पूर्वउपराष्ट्रपति पुनको निवासमा पनि खेलेको अखिल(क्रान्तिकारीक)को भैलोले पचास हजार रुपैयाँ दान पाएको थियो।

यता, प्रचण्डका घरबेटी विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीले भने यी सबैभन्दा बढी दान दिएका छन्। उनले सोही विद्यार्थीको भैलोलाई प्रचण्ड र राष्ट्रियसभा अध्यक्षभन्दा पनि पचास हजार बढी दान दिएका हुन्। 

हेर्नुहोस् भिडियो

विभिन्न ठेक्का अलपत्र पारेर बैंकको ऋण र ब्याज समेत  नतिरेर  कालोसूचीमा परेका ठेकेदार अधिकारीले विद्यार्थीको भैलोलाई दान भने १ लाख पचास हजार दिएको भैलोमा सहभागी भएका एक विद्यार्थी नेताले बताए।

सर्वत्र विवाद र विरोधकाबीच पनि माओवादी अध्यक्ष प्रचण्ड खुमलटारस्थित अधिकारीको घरमा बसिरेहेका छन्। प्रचण्डको प्रियपात्रका रुपमा रहेका अधिकारीसँगको सम्बन्धलाई लिएर प्रचण्डको बारम्बार आलोचना हुने गर्दछ। यस्तै, भाइ नाता पर्ने नारायणलाई पनि प्रचण्डले पार्टीमा विरोधका बाबजुद् राष्ट्रियसभाको अध्यक्ष बनाएका हुन। 

राष्ट्रियसभामा ६ वर्षे कार्यकाल भएका झग्गु सुवेदीलाई नबनाएर ४ वर्षे कार्यकालमात्रै भएका भाइ नाता पर्ने नारायणलाई एकल निर्णय गरेर राष्ट्रियसभाको अध्यक्ष बनाएका थिए। 

नातामा दाजुभाइ भनिए पनि यी दुई सहोदर दाजुभाइ भने होइनन्।  प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट चितवन झरेको हो भने राष्ट्रियसभा अध्यक्ष नारायणको पुर्खा भने बर्माबाट नेपाल आएको निकट स्रोतको दाबी छ।  
 

शनिबार, १७ कार्तिक २०८१, १० : ००

प्रतिक्रिया