काठमाडौँ- प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायो प्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन्। बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायो प्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो।
भजनी–५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन लाएका हुन्। सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्य योजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको स्रोतले बताएको छ । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रूपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रूपमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
रु एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्न सक्नेछ। झोला बनाउने उपकरण खरिद गर्न मात्रै रु ८० लाख खर्च भएको स्रोतको भनाई छ । दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको उद्योग सञ्चालकले बताए। उनले उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहने उल्लेख गरे।
गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास सञ्चालकहरुको छ।
प्रतिक्रिया