इतिहासमै पहिलोपटक साउदी अरबको मरुभूमिमा हिमपात

मंगलबार, २० कार्तिक २०८१, १८ : ०२

काठमाडौँ - साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो ।

यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ । हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।

साउदी अरेबियाले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ । गत बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्‍याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो ।

मौसममा आएको परिवर्तनका कारण ताबुक र अल बाह क्षेत्र पनि प्रभावित भएका छन् । सोमबारमात्र अल जुफको पहाडी क्षेत्रमा हिमपात भएको छ । यहाँ परेको हिउँको तस्बिरले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेको छ ।

यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम)ले अरब सागरदेखि ओमानसम्म फैलिएको न्यून चापीय प्रणालीका कारण असामान्य असिना परेको जनाएको छ । यसले यस क्षेत्रमा आर्द्रताले भरिएको हावा ल्यायो, जुन सामान्यतया सुख्खा हुन्छ । जसका कारण साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा मेघगर्जन, असिना र वर्षा भइरहेको छ । 

कसरी भयो मरुभूमिमा हिमपात ?

साउदी अरबमा हिमपात दुर्लभ हो । तर, देशको मौसम बर्सौंदेखि परिवर्तन भइरहेको छ । केही वर्षअघि जलमग्न सहारा मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो, जुन माइनस २ डिग्री सेल्सियससम्म पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिएको छ । 

बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपातजस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यस वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियादमा अभूतपूर्व वर्षापछि ठूलो बाढी आएको थियो । दुबईले पनि यस्तै बाढीको सामना गर्‍यो, जुन यस क्षेत्रका लागि नयाँ अनुभव थियो ।एजेन्सी

 

मंगलबार, २० कार्तिक २०८१, १८ : ०२

प्रतिक्रिया