काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीनमा हुने पहिलो विदेश भ्रमणको तयारीका लागि सरकारले गृहकार्य थालेको छ।
आगामी डिसेम्बरमा हुने भ्रमणको तारतम्य मिलाउने जिम्मा परराष्ट्रमन्त्री आरजू राणालाई दिइएको छ। बुधबार सत्ता साझेदार कांग्रेस एमालेका नेताहरुले गठन गरेको आठ सदस्यीय दुई दलीय संयन्त्रमा परराष्ट्र मन्त्री राणा पनि सामेल छिन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओली दुबैको सहमतिमा चीन भ्रमणको तयारी परराष्ट्रमन्त्री राणामार्फत परराष्ट्र मन्त्रालयले गर्ने बताइएको छ।
प्रधानमन्त्रीको हैसियतमा पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनको आमन्त्रणमा भ्रमणको तयारीमा रहेका ओलीको यस भ्रमण निकै अर्थपूर्ण देखिएको छ।
प्रधानमन्त्री भइसकेपछि दक्षिणी छिमेकी मुलुक भारतको भ्रमण गर्ने परम्परा तोड्दै ओलीले तय गरेको चीन भ्रमणले भूराजनीतिक कोणबाट समेत नेपालका लागि महत्वपूर्ण हुने र त्यसको प्रभाव पर्ने आंकलन गरिएको छ। सधैं भारतबाट सुरु हुने नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण गर्ने परिपाटीलाई ओलीले चुनौती दिन लागेका छन्।
त्यसोत ओलीको चाहना पनि सुरुमा भारतबाटै विदेश यात्रा थाल्ने नै रहेको थियो। उनले यसका लागि परराष्ट्रमन्त्री आरजू राणामार्फत पहल पनि नगरेका हैनन्। तर भारतीय पक्षले खासै रुची नदेखाएपछि ओली चीनतर्फ जान लागेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गत असोजमा अमेरिका पुगेका ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए। यद्यपि भेटमा राजनीतिक विषय र भारत भ्रमणको बारेमा मोदीले कुनै चासो नै दिएनन्।
त्यसअघि परराष्ट्रमन्त्री आरजूलाई भारत भ्रमणको क्रममा उच्च महत्व दिएर आफूलाई बेवास्ता गरेपछि ओली थप चिढिएका थिए।पटक-पटक चासो राख्दा समेत भारतले आफ्नो भ्रमणका निम्ती कुनै तदारुकता नदेखाएपछि ओली भारतसँग रुष्ट थिए। त्यसैको तुषस्वरुप उनले चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा पहिलो विदेश भ्रमण चीन जाने निक्र्योल गरेका छन्।
पहिलो कार्यकाल प्रधानमन्त्री रहँदा भारतीय पक्षले गरेको नाकाबन्दीको डटेर सामना गरेका ओलीको त्यस यता भारतसँग सम्बन्ध सुमधुर हुन नसकेको बताइन्छ।
यद्यपि दोस्रो पटक प्रधानमन्त्री हुँदा भने भारतीय गुप्तचर एजेन्सी ‘र’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री निवास बालुवाटारमै गुप्तगु भेटवार्ता गरेपछि सम्बन्धमा सुधार आएको बताइन्थ्यो।
तर, पछिल्लो भारतको बेवास्ताले ओलीसँगको तिक्तता कायमै रहेको दर्शाउँछ। यसैलाई चुनौती दिन पनि ओलीले चीन भ्रमणमा अग्रसरता बढाएको बताइन्छ।ओलीको आशन्न चीन भ्रमण भारतीय पक्षले आफूलाई गरेको उपेक्षाको बदला लिन चीनको निकट देखाउने दाउ पनि हुनसक्छ। आफूलाई भारत विरोधी देखाएर जनमत आकर्षित गर्ने ओलीको दाउका रुपमा पनि कतिपयले अथ्र्याउँछन्।
उनले विभिन्न चिनियाँ आयोजनाहरुमा द्विपक्षीय सम्झौता गरी बिआरआई लगायतका परियोजना कार्यान्वयन गर्ने तदारुकता देखाए भने भारत थप क्रुद्ध हुनसक्छ। र, यसले दुई देशीय सम्बन्धमा चिसो बढेर थप तिक्तता ल्याउने निश्चित छ।
अर्कोतिर चियिाँहरु वामपन्थी एकताको पक्षधर रहेको बताइन्छ। ओलीले यस पटकको चीन भ्रमणमा फेरि वाम सहकार्यको प्रतिबद्धता गरेर कांग्रेसलाई साइजमा ल्याउने प्रयत्न पनि गर्न सक्छन्।
अहिले कांग्रेससहितको सरकारको नेतृत्व गरे पनि ओली सर्बाधिक संकटमा छन्। कांग्रेसको दबाब अनुरुप चल्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका उनले कतिपय निर्णय कांग्रेसकै कारण गर्न विवश भएको बताइन्छ।
त्यसको पछिल्लो उदाहरण रवि लामिछानेको गिरफ्तारी हो। ओली रविलाई पक्राउ गर्ने पक्षमा थिएनन् । तर कांग्रेस अझै विशेष गरी महामन्त्री गगन थापाले शेरबहादुर देउवा मार्फत तीव्र दबाब दिएपछि पक्राउ गर्न बाध्य भएका थिए।
विगतमा पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पाएका ओलीलाई यसपाली भने प्रमुख प्रतिस्पर्धी दलसँगको सत्ता सहकार्य निकै सकसपूर्ण बनेको छ। राजनीतिक स्थायित्व र सुशासनको हवाला दिएर दुई प्रतिस्पर्धी दल मिले पनि सो अनुरुप काम गर्न नसक्दा ओली आफ्नै सरकार र यसको आयुबारे बारम्बार सार्वजनिक अभिव्यक्ति दिन बाध्य छन्।
उनले सरकारको नेतृत्व कांग्रेसलाई इमान्दारिपूर्वक हस्तान्तरण गर्ने र सरकार तोकिएको कार्यकालसम्म यथावत रहने भन्दै विश्वस्त बनाउन प्रयासरत देखिन्छन्। यसले ओलीको कांग्रेसँगको सत्तायात्रा सहज नरहेको भाव प्रकट हुन्छ । तथापि तत्काल सहयात्री बदल्न नसक्ने गरी नैतिक संकटमा उनी परेका छन्।
भारतसँगको सम्बन्धमा कटुता आएकै बेलामा चिनियाँ पक्षसँगको सम्बन्ध मजबुद भएमा फेरि वाम सहकार्यको वातावरण अनुकुल हुने भयले कांग्रेसको दवाब कम हुने र आफूले नियन्त्रणमा राख्न सकिने पनि ओलीको दाउ हुनसक्छ।
संसदबाटै ‘सत्यमेय जयते कि सिंह मेय जयते’ भन्दै भारतलाई चुनौती दिएका ओलीको पहिलो विदेश भ्रमण चीन तय भएपछि यसले नेपालमा भारतीय प्रभुत्व कम गर्ने आंकलन पनि गरिएको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएर फर्किए पछि आफ्नो पहिलो विदेश भ्रमण भारत हुने भनेर प्रचण्डको जस्तै निरीहता प्रकट नगर्लान भन्न सकिँदैन।
तथापि ओलीले विगतदेखिको प्रचलन तोड्दै तय गरिएको चीन भ्रमणले नेपालका दुई छिमेकी बराबर रहेको सन्देश दिँदै नेपालमा एकाधिकार कायम गर्न खोज्ने भारतीय प्रवृत्तिलाई भने राम्रै सवक सिकाएको छ।
प्रतिक्रिया