४ फिल्म ब्लकबस्टर, कुनले कति कमाए ?

विहीबार, २२ कार्तिक २०८१, १३ : २९

काठमाडौँ- यस वर्षको ७ महिनामा ४ फिल्म ब्लकबस्टर बनेका छन् । 

नेपाली फिल्मका लागि वि.सं २०८१ फापेको देख्न सकिन्छ । फिल्म सफलताको आँकडा हेर्ने हो भने यो वर्ष सर्वाधिक सफल देखिन्छ । 

यस वर्षको वैशाखदेखि कात्तिक सम्म रिलिजमा आएका १० वटा फिल्म बक्स अफिसमा सफल भइसकेका छन् । अझै पनि ५ महिना बाँकी नै रहेकाले यो सङ्ख्या बढ्न सक्ने मूल्याङ्कन गर्न सकिन्छ।  फिल्म क्षेत्रका लागि सबैभन्दा खुसीको कुरा यो छ कि यस वर्ष ७ महिनाको अन्तरालमै ४ वटा फिल्म ब्लकबस्टर साबित भइसकेका छन् । 

यस वर्षको पहिलो ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’बनेको छ । न्यून बजेटमा बनेको यस फिल्मबाट निर्मात्री केकी अधिकारीले राम्रो लाभ लिन सकिन् । यस फिल्मले बक्स अफिसमा १० करोडको आँकडा पार गरेको थियो । 

यस वर्षको अर्को ब्लकबस्टर फिल्म हो ‘१२ गाउँ’ । बक्स अफिसमा यो फिल्मले आक्रामक कमाई गर्यो र अझै पनि गरिरहेको छ । यो फिल्मले बक्स अफिसमा २३ करोड ५० लाखको आँकडा पार गरेको दाबी वितरकको छ । यस फिल्मबाट निर्माता तथा निर्देशक बिराज भट्टले १० करोड भन्दा माथिको कमाई गर्ने निश्चित छ । यही फिल्मबाट विराजका छोरा समीर चलचित्र क्षेत्रको रङ्गिन दुनियाँमा उदाएका छन् । 

यसै वर्षको अर्को ब्लकबस्टर फिल्म हो ‘छक्का पन्जा ५’ । यो फिल्मले बक्स अफिसमा २० करोडको ग्रस कलेक्शन गरिसकेको छ । लाइफ टाइम कलेक्सनमा यो आँकडा केही माथि देखिन सक्छ ।  यस्तै, लक्ष्मी पूजाको शुभ अवसर पारेर रिलिजमा आएको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बक्स अफिसमा सुपर हिट भइसकेको छ । रिलिजको एक सातामै सुपर हिट भएको यो फिल्म ब्लकबस्टर बन्ने निश्चित छ । निर्माताको अनुसार, यो फिल्मको बजेट डेढ करोडको हाराहारीमा छ ।

यस अर्थमा, फिल्मले १० करोडको आँकडा पार गरेसँगै ब्लकबस्टर हुने निश्चित छ । फिल्मको दोस्रो साताको अकुपेन्सी हेर्दा यसले ‘१२ गाउँ’ले बनाएको व्यापारिक रेकर्डलाई नै चुनौती दिने देखिन्छ । 

यस वर्षको ७ महिनामा नेपाली फिल्मले ४ वटा ब्लकबस्टर फिल्म पाएको छ । यसले, फिल्म क्षेत्रमा सुनौलो दिन फर्किएको विश्लेषण पनि गर्न सकिन्छ । 

विहीबार, २२ कार्तिक २०८१, १३ : २९

प्रतिक्रिया